Kathmandu Press

मुख्यमन्त्री गुरुङविरूद्धको अविश्वासको प्रस्तावमाथि आजै मतदानकाे कार्यसूची

 पाेखरा, वैशाख १५ : गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङ नै कायम रहने कि नरहने भनेर आज (बुधबार) टुंगो लाग्ने सम्भावना छ। मुख्यमन्त्री गुरुङविरूद्धको अविश्वासको...
मुख्यमन्त्री गुरुङविरूद्धको अविश्वासको प्रस्तावमाथि आजै मतदानकाे कार्यसूची

 

पाेखरा, वैशाख १५ : गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङ नै कायम रहने कि नरहने भनेर आज (बुधबार) टुंगो लाग्ने सम्भावना छ। मुख्यमन्त्री गुरुङविरूद्धको अविश्वासको प्रस्तावमाथि आज प्रदेश सभामा मतदान गर्ने कार्यसूची  छ।

अहिले प्रदेशसभाको बैठक जारी छ । बैठकमा सांसदहरूले अविश्वासको प्रस्तावमाथि आफ्ना धारणा राखिरहेका छन्। सांसदहरूले धारणा राखिसकेपछि मुख्यमन्त्री गुरूङले जवाफ दिने र त्यसपछि मतदान हुनेछ।

अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ। यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति संसद् अन्त्य गर्न सिफारिस गरेका थिए।

लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गरेको भए पनि प्रतिपक्षी दलहरूले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गरेका थिए।

हिजो (मंगलबार) को प्रदेशसभा बैठक सत्तापक्ष एमालेकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। 

अविश्वास प्रस्तावको पक्षमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने जनाएका छन्। कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले भने अविश्वास प्रस्तावमै हस्ताक्षर गरिसकेका छन्। यी चार दल मिल्दा नयाँ सरकार गठन गर्न पुग्ने बहुमत ३१ पुग्छ।

गण्डकी प्रदेशमा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन्। पूर्वसहमति अनुसार मतदान भए कांग्रेस संसदीय दलका नेता नेपाली गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीमा निर्वाचित हुनेछन्।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्