Kathmandu Press

तीन सय वर्ष अघिकाे त्याे महामारी, जसले ललितपुरका राजासँगै धेरैकाे ज्यान लियाे

महामारीका प्रकोपले पाखामा रहेका खश–मगर र तामाङ मात्र होइनन्, जंगलमा रहेका पशुपन्छी पनि मरे । तर, ज्यादा जोड गरेर गुजमुज्ज घर भएका र फोहोर ज्यादा भएका काठमाडौं उपत्यकाका सरहका र गाउँका बस्ती सखाप भए ।
तीन सय वर्ष अघिकाे त्याे महामारी, जसले ललितपुरका राजासँगै धेरैकाे ज्यान लियाे

काठमाडौं, वैशाख १५ : पृथ्वीमा कैयौँ भाइरस कैयौँ वर्षदेखि सुषुप्तावस्थामा छन् । तर, मानिस लगायत पशुपन्छी वा वनस्पतिको सम्पर्कमा नआएसम्म ती भाइरसले कुनै क्षति पुर्‍याउँदैनन् । 

तपाईंलाई अचम्म लाग्न सक्छ, यो पृथ्वी महामारीको इतिहास पनि हो । पृथ्वीले, अझ भनौँ मानिसले आफ्नो इतिहासमा विषाणु (भाइरस)को महामारी झेल्दै आयो र झेलिरहेछ । यसका थुप्रै उदाहरण र संकेत हामीसँग छन् । केही उदाहरणमा, ब्ल्याक डेथ (सन् १३४६–१३५३), रसियन फ्लु (सन् १८८९–१८९०), स्पेनिस फ्लु (सन् १९१८–१९२०) आदि पर्छन् । र, पछिल्लो समय हामीले कोरोना (कोभिड १९) महामारी झेलिरहेका छौँ ।

ललितपुरका राजाको ज्यान लिने त्यो महामारी

सन् १७१६ मार्चदेखि कान्तिपुर (अहिलेको काठमाडौं) मा ग्रन्थिज्वर (प्लेग) महामारीको प्रकोप सुरु भयो । (त्यतिबेला कुनै पनि प्रकारको महामारीलाई विश्वले ‘प्लेग’ भनेर नाम दिन्थ्यो वा चिन्थ्यो ।) यो महामारी फैलँदा ललितपुरमा ऋद्धिनरसिंह मल्ल राजा थिए । कान्तिपुरमा मार्चदेखि सुरु भएको यो महामारी जुनमा ललितपुरमा र नोभेम्बरदेखि भक्तपुरमा पनि फैलियो । 

बाबुराम आचार्यको पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ अनुसार, यस महामारीले सन् १७१७, जुनको अन्तिमतिर राजा ऋद्धिनरसिंह मल्लको देहान्त भयो । त्यसपछि महीन्द्रसिंह ललितपुरका राजा भए । ‘महामारीका प्रकोपले पाखामा रहेका खश–मगर र तामाङ मात्र होइनन्, जंगलमा रहेका पशुपन्छी पनि मरे । तर, ज्यादा जोड गरेर गुजमुज्ज घर भएका र फोहोर ज्यादा भएका काठमाडौं उपत्यकाका सरहका र गाउँका बस्ती सखाप भए । भक्तपुर सहर ज्यादा फोहोर भएको हुनाले ज्यादा जनसंहार त्यहीँ भयो र पुगनपुग अढाइ वर्षजति यो महामारी रहेर साम्य भयो,’ पुस्तकमा लेखिएको छ । 

आज पनि काठमाडौं उपत्यकामा फोहोर उस्तै छ । विश्वकै प्रदूषित सहरको सूचीमा पनि बेला बेला परिरहेकै छौँ । खाली ठाउँ नराखेर गुजुमुज्ज घर बनाउने हाम्रो बानी सुध्रेको छैन । 

माथि भनियो कि, ‘जंगलमा पशुपन्छी पनि मरे ।’ भाइरसले मानिस मात्रै होइन, पशुपक्षी वा वनस्पतिलाई पनि असर गर्छ । अफ्रिकामा सन् १८८८ देखि १८९७ सम्म फैलिएको राइन्डरपेस्ट नामक भाइरसले घर पालुवा जनावरलाई विनाश गरेको थियो । 

महामारी वा विपतले धनजनको क्षति हुनु एकातिर छ, तर यसले मानिसलाई केही न केही पाठ सिकाएको पनि हुन्छ । युद्ध, प्राकृतिक विपत्, महामारीपछि विश्वमा तंग्रिएका देश थुप्रै छन् । विपतपछि मानिसले नयाँ ढंगले सोच्न थाल्छ । हामीकहाँ पनि ९० सालको भूकम्पपछि व्यापार–व्यवसाय र आधुनिकीकरणमा त्यतिबेलाको सरकार जागरुक भएको इतिहास भेटिन्छ । त्यसको १७ वर्षमा देशमा प्रजातन्त्र आएको थियो, त्यसपछि विद्यालय खुल्न थालेका थिए । १० वर्षे जनयुद्धपछि हामी राजनीतिक स्थिरताका लागि चिन्तन गरिरहेका छौँ । त्यस्तै, ०७२ को भूकम्पपछि विकास निर्माणसँगै संविधान बनाउन देश उद्यत भएको थियो । 

अहिले कोरोना महामारीका बीच पनि हामीले गाउँगाउँमा स्वास्थ्य सेवा, गरिबीको रेखामुनिका नागरिकलाई आधारभूत सुविधाको चिन्ता वा चिन्तन गरिरहेका छौँ । 

कोरोना महामारीबाट जोगिन सबैले सतर्कता अपनाऔँ, आशा गरौँ, सबै ठीक भएर जानेछ । 
 

प्रकाशित मिति: १०:३७ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्