युवाहरुले सामाजिक सञ्जालबाटै समूह बनाएर सफा गरे पोखराको फेवा नहर
काठमाडौं, वैशाख १५ : फेवातालको पानी बगेर जाने नहरमा थुप्रिएको फोहोरलाई युवाहरुले सामाजिक सञ्जालबाटै समूह जुटाएर सफा गरेका छन् ।
केहि दिनअघि सामाजिक सञ्जालमा ड्यामसाइडको नहरमा फोहोर थुप्रिएको चर्चा चुलिएपछि पोखराका युवा संचारकर्मी आशिष पुरीले ड्यामसाइडको उक्त नहर सफा गर्न फेसबुकमा आह्वान गरेका थिए । नहरमा थुप्रिएको फोहोरको फोटो राखेर उनले नयाँ बन्ने डिजाइन राखेर सफा गर्नका लागि आह्वान गरेका थिए।
त्यसपछि उनीसँग सम्पर्कमा रहेका अन्य युवाहरु पनि जोडिन थाले र फोहोर उठाउन उनीहरुले स्थानीय ड्यामसाइड युवा क्लबसँग सहकार्य गरे। नहरको फोहोर उठाउन गरेको सार्वजनिक अपिल र सम्पर्कमा रहेका युवाहरुको जमात केहीबेरमै जुटाए उक्त फोहोर भएको ठाउँलाई सफा बनाए र पोखरा महानगरको फोहोर बोक्ने गाडी बोलाइदिए।
सोमबार र मंगलबार दुई बिहान लगाएर गरेको सरसफाइबाट २ सय ब्याग फोहोर संकलन भएको सञ्चारकर्मी पुरीले बताए ।