दुई सातामा ७ गुणाले बढे कोरोना संक्रमित
काठमाडौं, वैशाख १४ : गत दुई सातामा दैनिक पुष्टि हुने कोरोना सङ्क्रमितको सङ्ख्या सात गुणाले वृद्धि भएको छ।नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख...
काठमाडौं, वैशाख १४ : गत दुई सातामा दैनिक पुष्टि हुने कोरोना सङ्क्रमितको सङ्ख्या सात गुणाले वृद्धि भएको छ।
नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते ६ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई सातापछि आज चार हजार पाँच सय २४ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ।
दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा चार सय ५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो। हाल उक्त सङ्ख्या २४ लाख ३२ हजार ८९ पुगेको छ। हाल ५८ जना क्वारेन्टिनमा रहेका छन्।
त्यस्तै, दुई लाख ७८ हजार पाँच सय ६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर पाँच सय ५५ सङ्क्रमित निको भएर घर फर्किएका छन्। दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त सङ्ख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ।
दुई सातामा काठमाडौं उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि भएको छ। दुई साताअघि काठमाडौं उपत्यकामा २५४ जनामा संक्रमण देखिएको थियो। पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार ९६६ पुगेको छ।
दुई साताअघि काठमाडौंमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० जनामा कोरोना देखिएको थियो। आज काठमाडौंमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, दुई साताअघि तीन सङ्क्रमितको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।
वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त सङ्ख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ। दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन्। (रासस)











-1790332718.jpg)