Kathmandu Press

सत्ता साझेदारीबारे छिट्टै निर्णय हुन्छ : यादव

काठमाडौं, वैशाख १४ : जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको सत्ता साझेदारीबारे छिट्टै निर्णय हुने बताएका छन्।मंगलबार बसेको जसपा...
सत्ता साझेदारीबारे छिट्टै निर्णय हुन्छ : यादव

काठमाडौं, वैशाख १४ : जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको सत्ता साझेदारीबारे छिट्टै निर्णय हुने बताएका छन्।

मंगलबार बसेको जसपा पदाधिकारी बैठकमा पनि सत्ता साझेदारीबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादीसँग सत्ता साझेदारी गर्नुपर्नेमा जोड दिएका थिए।

अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग पूरा गरेरमा सघाउनु पर्ने तर्क गरेका थिए। दुवै पक्ष आआफ्नो विचारमा अडिक रहेपछि जसपा पदाधिकारी बैठकले कुनै निर्णय गर्न सकेन।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले कुनै निष्कर्षमा नपुगिएको बताए। अब छिट्टै निर्णयमा पुगिने उनको भनाइ थियो।

फेरि पदाधिकारी बैठक बस्ने र त्यसपछि कार्यकारिणी समितिको बैठक बस्ने उनले बताए। कार्यकारिणी समितिको बैठकबाटै सत्ता साझेदारीबारे निर्णय हुने उको भनाइ छ।

आजको पदाधिकारी बैठकमा सहमति जुट्न सकेन। जसपाको ६ सदस्यीय पदाधिकारी समितिमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठ एकातिर देखिएका छन् भने अर्का अध्यक्ष ठाकुर र महतो अर्कातिर देखिएका छन्। जसले गर्दा कार्यकारिणी समिति बैठक बोलाउनेबारे निर्णय हुन सकेन।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति रहेको छ। जसमा यादव र डा. भट्टराईको बहुमत रहेको छ।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्