Kathmandu Press

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

सुर्खेत, वैशाख १३ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै एमाले संसदीय दलका नेता यामलाल कँडेल...
‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

सुर्खेत, वैशाख १३ : कर्णाली प्रदेशसभामा  ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई पदमुक्त गरिएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै एमाले संसदीय दलका नेता यामलाल कँडेल हिजो (आइतबार) आफ्ना चार सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र पठाएका थिए। हिजो नै उक्त पत्र सचिवालयमा दर्ता भएको थियो।

सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू पदमुक्त भएको पत्र पढेर सुनाएका हुन्।

एमालेले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते प्रदेशसभामा विश्वासको मतउपर मतदान भएको थियो । उक्त मतदानमा पार्टीको ह्वीप विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका थिए।

शुक्रबार बसेको एमालेको १०औ‌ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सल्यान–१ (ख) का प्रकाश ज्वाला, दैलेख–१ (ख) का अम्मरबहादुर थापा, कालीकोट–१ (क) का  कुर्मराज शाही र डोल्पा–१ (क) का नन्दसिं बुढालाई पदमुक्त गर्ने निर्णय गरेको थियो। एमालेले प्रदेशसभा सदस्य, दलको जिम्मेवारीका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनीहरूलाई निष्कासन गरेको हो।

अब कर्णाली प्रदेशसभा ३५ सदस्यीय बनेको छ। जसमा एमालेका १६ (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्। यसअघि एमाले प्रवेश गरेका दैलेख–१ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई पनि माओवादी केन्द्रले पदमुक्त गरेको थियो।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्