Kathmandu Press

गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्‍वास प्रस्तावमाथि बुधबार मात्र मतदान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्‍वास प्रस्तावमाथि बुधबार मात्र मतदान हुने भएको छ।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्‍वास प्रस्तावमाथि बुधबार मात्र मतदान

पोखरा, वैशाख १३ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्‍वास प्रस्तावमाथि बुधबार मात्र मतदान हुने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार अपराह्न दुई बजे सुरु हुने विशेष अधिवेशनमा आज अविश्‍वास प्रस्ताव टेबल मात्र हुनेछ। प्रस्तावको पक्ष र विपक्षमा बोल्ने सांसदहरूको सूची अहिलेसम्म प्राप्त नभएको सचिवालयका एक उच्च अधिकारीले जानकारी दिए।

‘आज साँझसम्ममा सूची उपलब्ध गराइने जानकारी आएको छ, कतिजनाले प्रस्तावको पक्ष र विपक्षमा बोल्छन् भन्‍ने यकिन छैन,’ ती अधिकारीले काठमाडौं प्रेससँग भने, ‘सूची प्राप्त भएपछि मात्र छलफल कति लामो हुन्छ भन्‍ने यकिन गर्न सकिने छ।’

उनका अनुसार सोमबार अविश्‍वास प्रस्तावमाथि मतदान हुने सम्भावना छैन। ‘छलफल चाँडै सकियो भने भोलि नत्र पर्सी मात्र मतदान हुने सम्भावना छ,’ ती अधिकारीले भने।

कांग्रेस, माओवादी केन्द्र र जसपाले २ वैशाखमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता गरेका थिए। अविश्‍वास प्रस्ताव आउने सुइँको पाउनासाथ मुख्यमन्त्री गुरुङले प्रदेशसभाको हिउँदे अधिवेशन १ वैशाख मध्यरातमै अन्त्य गराएका थिए।

विपक्षी दलहरूले अविश्‍वास प्रस्तावका साथमा विशेष अधिवेशनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दर्ता गराएका थिए। प्रदेश प्रमुख शेरचनले सोमबारदेखि सुरु हुने गरी विशेष अधिवेशन आह्वान गरेका थिए।
 

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्