हिमालयन चितुवाले जिते ‘अन्तर्राष्ट्रिय प्रोफेसनल किक बक्सिङ हिट ४८’
काठमाडौं, वैशाख १२ : युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन्। जापानको नागोया सहरमा अवस्थित नागोया...
काठमाडौं, वैशाख १२ : युवा पुस्ताका बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) ले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन्। जापानको नागोया सहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन्। विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ।
आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने घिमिरे कम उमेरका पहिलो बक्सर बनेका छन्। घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए। जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उहाँले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए। विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो ।
सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बोको थिए। १० हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए।
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आउनुभएका अविरल हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने अविरल पहिलो ‘बक्सर’ समेत भएका थिए। एक्काइस वर्षीय बक्सर घिमिरेले बाज्रिलियाली खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि नागोयामा बस्दै आएका छन्।
वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेका अनुसार अविरलले हालसम्म १६ भन्दा बढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन्। उनी तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका छन्। बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए। रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा घिमिरेले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए।
यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्चकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउन्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए।
घिमिरेले हालसम्म हिट-२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका छन्। तीमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिताका नौ खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहनुभएका रामनारायणले जानकारी दिए। (रासस)











