ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ : भीम रावल

काठमाडौं, वैशाख १० : नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताए। ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’ रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं।’
उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे। कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए। नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको बताए। रावलले भने, ‘हामी नेकपा (एमाले)मा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं।’
कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिर गरे। उनले सांसद पद जाने गरी विधि विधानविपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे। ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ ओलीलाई चुनौति दिदै रावलले भने, ‘सांसद पदबाट मुक्तहुन संविधानले स्पष्ट रुपमाविधि तोकेको छ भन्ने हेक्का होस्।’
विधि र विधानविपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए। उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे। उनले भने, ‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं।’
आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए। उनले भने, ‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं।’
ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए। कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए।
ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिए। अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए। उनले भने, ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं।’
सहमतिका लागि २०७५ जेठ २ गतेको अवस्थामा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए। ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए।








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


