Kathmandu Press

टी–२० क्रिकेटमा सन्दीपका सय खेल

काठमाडौं, वैशाख ९ : लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि...
टी–२० क्रिकेटमा सन्दीपका सय खेल

काठमाडौं, वैशाख ९ : लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन्। मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन्।

हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिइसकेका छन्। नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिएका हुन्।

लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन्। उनले २५ वटा टी–२० खेलमा ४५ विकेट लिएका छन्।

यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो। उनले ३२ खेलमा ४१ विकेट लिएका थिए।
लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका हुन्। टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेलेका थिए।

सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले डेब्यु गरेका थिए। लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुन्।

डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट

नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिएका छन्।

त्रिदेशीय सिरिजअन्तर्गत आजको खेलमा उनले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिए। ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश भएका हुन्। उनले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काए भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराए।

महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। (रासस)

प्रकाशित मिति: २१:३६ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्