ओलीलाई नेपालको जवाफ- दल खोलेको भन्ने पूर्ण असत्य
काठमाडौं, वैशाख ९ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै नयाँ दल खोलेको भन्ने कुरा...
काठमाडौं, वैशाख ९ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै नयाँ दल खोलेको भन्ने कुरा पूर्णरुपमा असत्य भएको बताएका छन्।
अध्यक्ष ओलीले नेपालसहित २७ जना नेतालाई स्पष्टीकरण सोधेका थिए। उनीहरुलाई दुई दिनभित्र जवाफ दिन भनिएको थियो।
ओलीले सोधेको स्पष्टीकरणमा नयाँ दल खोलेको आरोप लगाइएको थियो। उनले नेपाल समूहले ललितपुरमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नयाँ दल भनेका थिए।
बिहीबार नेपालसहित २७ जना नेतालले छुट्टाछुट्टै स्पष्टीकरण बुझाएका हुन्। नेपालले बुझाएको स्पष्टीकरणमा नयाँ दल खोलेको भन्ने पूर्ण रुपमा असत्य भएको बताएका छन्।
'ललितपुरमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा एमालेको एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो,' नेपालले भनेका छन्, 'उक्त भेलाले अलग राजनीतिक दल खोलेको वा गठन गरेको भन्ने कुरा पूर्णरूपमा असत्य हो।'
उनले ललितपुर भेलाको उद्देश्य नयाँ दल खोल्ने नभएको पनि बताएका छन्। नेपालले भनेका छन्, 'त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा एमालेको उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन।'
नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्च अदालतको फैसलापछि एमाले पूर्ववत रुपमा क्रियाशील हुनुपर्ने बताएका छन्। उनले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बताएका छन्।
वरिष्ठ नेता नेपालले ओलीलाई नै भ्रममा परेको जिकिर गरेका छन्। उनले भनेका छन्, 'अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप भन्नु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्धतिका सम्बन्धमा तपाई स्वयंमा उत्पन्न दृष्टि भ्रम र विचलनको घोतक हो।'
नेपालले फेरि पनि नेताहरुलाई जिम्मेवारीबाट हटाउने कार्य गलत भएको बताएका छन्। नेताहरुलाई जिम्मेवारीबाट हटाउने, नयाँ केन्द्रीय सदस्य थप्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्ने कार्य विधान विपरित भएको जवाफ दिएका छन्।









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

