आज दर्ता भयो ओलीविरुद्धको रिट निवेदन, आइतबार पेसी
काठमाडौं, वैशाख ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका निर्णय र कारबाहीविरुद्ध सर्वोच्च अदालतमा बुधबार पेस गरेको रिट...
काठमाडौं, वैशाख ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका निर्णय र कारबाहीविरुद्ध सर्वोच्च अदालतमा बुधबार पेस गरेको रिट निवेदन आज (बिहीबार) दर्ता भएको छ।
बुधबार अध्ययनका लागि समयाभाव भएको भन्दै सर्वोच्चले रिट दर्ता गर्न मानेको थिएन। उक्त रिट निवेदनमाथि आइतबारका लागि सुनुवाइ पेसीसमेत तोकिएको सर्वोच्चले जनाएको छ।
रिट निवेदकमा नेता नेपाल, भीम रावल र घनाश्याम भुसाल छन्। रिटमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ।
रिट निवेदनमा ओलीले गैरकानुनी रुपमा गरेका निर्णय कार्यान्वयन नगर्न र आफूहरुमाथिको कारबाही रोक्न माग गरिएको छ। पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने विषय उठाउँदा कारबाहीको मनसायले स्पष्टीकरण सोधिएको नेपाल–खनाल समूहको आरोप छ। अध्यक्ष ओलीले मंगलबार नेपाल समूहका २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए। कर्णाली प्रदेशका पाँच सांसदलाई पनि स्पष्टीकरण सोधिएको थियो।
नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो । उनीहरूलाई पुनः स्पष्टीकरण सोधिएको छ। ती चारजनालाई तीन दिन र बाँकीलाई दुई दिनभित्र जवाफ दिन भनिएको छ।
स्पष्टीकरण सोधिनेमा वरिष्ठ नेता खनाल पनि छन्। अन्यमा योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत छन्।









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

