सकियो ओली–नेपाल ‘वान टु वान’ वार्ता, कुनै प्रगति नभएको प्रतिक्रिया
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ। उनीहरूबीच नक्सालस्थित मेरियट होटलमा...
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ। उनीहरूबीच नक्सालस्थित मेरियट होटलमा ‘वान टु वान’ भेटवार्ता भएको हो। बिहीबार साँझ पनि उनीहरूबीच भेटवार्ता भएको थियो। चैत ३ यता उनीहरुबीच कुनै सवाद हुन सकेकाे थिएन ।
एमालेको आन्तरिक विवादका कारण यी दुई नेताबीच गहिरो दरार पैदा भएको थियो। अध्यक्ष ओलीले पार्टीमा एकाधिकार जमाउँदै आफूहरूमाथि निषेधको राजनीति गर्दै आएको आरोप नेपाल समूहले लगाउँदै आएको थियो भने नेपाल समूहले पार्टी हितविपरति गतिविधि सञ्चालन गरेको भन्दै अध्यक्ष ओलीले कारबाहीको दण्डा चलाउँदै आएको छ । मंगलबार मात्रै ओलीले नेता नेपाल सहित २७ जनालाई स्पष्टीकरण सोधेको थियो।
एक समूहले समानान्तर गतिविधिलाई तीव्रता दिइरहेको र अर्को समूहले कारबाही प्रक्रिया चलाइरहेका कारण एमाले लगभग फुटको सँघारमा पुगेको विश्लेषण हुँदै आएको छ। पार्टीलाई फुटबाट बचाउनुपर्ने चर्को दबाब पनि पार्टीभित्र सिर्जना हुँदै आएको छ।
यस्तो अवस्थामा उनीहरूबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा अत्यन्त चासोका साथ हेरिएको छ। बुधबारको वार्तामा नेता नेपालले पार्टी एकता जोगाउन २०७५ जेठ २ अघिको स्थितिमा पुग्नुपर्ने प्रस्ताव राखे पनि ओलीले त्यसलाई स्वीकार गरेका थिए। साे भेटवार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पुनः भेटवार्ता भएको जनाइएको छ।
आजको भेटवार्ताबाट केकस्तो सहमति भयो भन्ने जानकारी आइसकेको छैन। हाेटलबाट बाहिरिने क्रममा नेता नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै छलफलबाट कुनै प्रगति नभएको बताए।
ओलीसँगकाे वार्तापछि नेता नेपालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग पनि छलफल गरेका थिए। दुगडले विवादकाे टुंगो नलाग्दासम्म छलफल चलिरहने बताए।









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

