नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत
अबुजा, वैशाख ९ : नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ। नाइजेरियाको...
अबुजा, वैशाख ९ : नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ। नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा आएको उतारचढाब र कोभिड–१९ महामारीका कारण प्रभावित अर्थव्यवस्थालाई सहयोग पु¥याउन नाइजेरियाले ऋण लिन लागेको हो।
सिनेटले अनुमोदन गरेको रकममध्ये १।५ अर्ब डलर बिदेशी दातृ निकायबाट ऋण लिइने छ भने ९९ करोड ५० लाख युरो विश्व बैंक, ब्राजिलको एक्सपोर्ट–इम्पोर्ट बैंक र डच बैंकबाट ऋण प्राप्त हुनेछ ।
अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको नाइजेरियाको कच्चा तेलको मूल्यमा आएको गिरावटले आर्थिक वृद्धिमा असर पुगेको छ। अफ्रिकी महादेशको सबैभन्दा ठूलो तेल उत्पादक मुलुक नाइजेरियाले विदेशी मुद्रा आयको झण्डै ९० प्रतिशत कच्चा तेल बिक्रीबाट प्राप्त गर्ने गरेको छ।
अर्थमन्त्री जैनाब अहमदले अत्यावश्यकीय पूर्वाधार निर्माणका लागि विदेशी ऋण लिनु परेको बताएका छन्। मार्च २०२० मा सांसदहरुले राष्ट्रपति बुहारीको अनुरोध गरेबमोजिम २२।७ अर्ब डलर विदेशी ऋण लिन पनि स्वीकृति जनाएका थिए। यसमध्ये १७ अर्ब डलर चीनको एक्जिम बैंकले उपलब्ध गराएको थियो।
विश्वव्यापी तेलको मूल्यमा सन् २०१६ मा गिरावट आएसँगै देशभित्र सञ्चालित योजनाहरु अघि बढाउन नाइजेरियाले विदेशबाट ठूलो परिमाणमा ऋण लिनु परेको हो ।
पश्चिम अफ्रिकी मुलुक नाइजेरिया सन् २०२० मा कूल गार्हस्थ्य उत्पादनमा निरन्तर गिरावट आएपछि अर्थतन्त्रमा मन्दीको अवस्था सिर्जना भएको थियो। तर सन् २०२१ को फेब्रुअरीदेखि अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन्।












