Kathmandu Press

नेपाल-खनाल समूहले भन्यो- रायमाझीपथमा ओली

‘०७५ जेठ २ गतेको विन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्‍ने हाम्रो माग हो, दाबी हो। यति सामान्य र न्यूनतम प्रस्तावलाई पनि स्वीकार गरिँदैन भने कमरेड केपी ओली पार्टी विभाजनतर्फ लाग्नुभएको तथ्य नै प्रमाणित हुन्छ,’ नेपाल-खनाल समूहले भनेको छ।
नेपाल-खनाल समूहले भन्यो- रायमाझीपथमा ओली

काठमाडौं, वैशाख ९ : एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले पार्टी एकताको आधार नवौँ महाधिवेशनमा निर्वाचित कमिटीहरूलाई पुनर्जीवन मात्र रहेको स्पष्‍ट पारेको छ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरका अपिल जारी गर्दै उक्त समूहले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको बताएको छ। ‘हामीलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएका छन्। २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटको बैठक मान्‍ने कुराले त्यही देखाउँछ,’ अपिलमा उल्लेख छ, ‘तर, हामी पार्टी एकता जोगाउन चाहन्छौँ। त्यसैले हामीले ‘नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिष्‍ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौँ। त्यसका निम्ति फागुन २८ र तत्पश्‍चात भएका कथित बैठक र तिनका अवैध निर्णय सवै रद्द गरिनुपर्छ।’

२ जेठ ०७५ को केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर निर्णय लिइए मात्र एमालेको एकता जोगिने अपिलमा स्पष्‍ट गरिएको छ।

अपिलमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्‍टलक्ष्‍मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्‍ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल गरी १५ जना नेताको हस्ताक्षर छ।

अपिलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई ‘केशरजंग रायमाझी पथ’का रूपमा चित्रित गरिएको छ।

‘०१४ सालमा कमरेड पुष्‍पलालद्वारा प्रस्तावित गणतन्त्रको नीति पारित गरेको दोस्रो महाधिवेशनले डा. केशरजंग रायमाझीलाई नेतृत्व सुम्पिन पुग्यो। त्यसको परिणाम ०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरेर सत्ता हत्याउँदासमेत रायमाझीले समर्थन गर्न पुगे,’ अपिलमा भनिएको छ, ‘त्यही घटना ०७१ असारमा सम्पन्‍न नवौँ महाधिवेशनपछि दोहोरिएको छ। त्यस महाधिवेशनले नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्‍न भएको निष्‍कर्षका साथ समाजवादका आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो। तर, पार्टी अध्यक्षमा त्यस कार्यदिशाका विरोधी केपी शर्मा ओली चुनिनुभयो र उहाँले महाधिवेशनबाट पारित कार्यदिशा, विधान र विधि-पद्धति सवै लत्याएर स्वेच्छाचारी ढंगले चल्न थाल्नुभयो। त्यसले गर्दा नवौँ महाधिवेशन लगत्तैदेखि पार्टीमा समस्या बल्झिँदै आयो।’

कम्युनिस्ट पार्टीका लागि सही वैचारिक तथा सैद्धान्तिक दिशा र त्यसलाई लागू गर्न सक्ने संगठन नै सबैथोक रहेको अपिलमा उल्लेख छ। तर, पार्टी अध्यक्ष ओलीका कारण आज ती दुवै संकटग्रस्त रहेको बताइएको छ।

‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिस्ट आन्दोलनकै विसर्जनको दिशा हो,’ अपिलमा भनिएको छ, ‘यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारविरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ।’

४-५ चैत ०७७ मा सम्पन्‍न राष्‍ट्रिय भेलाबाट पार्टीको एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरिएको बताउँदै अपिलमा भनिएको छ, ‘पार्टी अध्यक्षसँग अनेकौँ विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्, जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ।’

तर, त्यस्तो केन्द्रीय कमिटी २ जेठ ०७५ मा बहाल रहेको अवस्थाको हुनुपर्ने उक्त समूहको माग छ। ‘०७५ जेठ २ गतेको विन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्‍ने हाम्रो माग हो, दाबी हो। यति सामान्य र न्यूनतम प्रस्तावलाई पनि स्वीकार गरिँदैन भने कमरेड केपी ओली पार्टी विभाजनतर्फ लाग्नुभएको तथ्य नै प्रमाणित हुन्छ,’ अपिलमा उल्लेख छ।
 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्