Kathmandu Press

ओली र नेपालको भेटवार्ता सकियो, दुवै प्रफुल्ल

नेपाल (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
ओली र नेपालको भेटवार्ता सकियो, दुवै प्रफुल्ल
हाेटल मेरियटमा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, वैशाख ८ : नेपाल (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।

बुधबार साँझ होटल मेरियटमा ओली र नेपालबीच करीब डेढ घन्टा वार्ता भएको हो। वार्तापछि होटलबाट बाहिरने क्रममा दुवै नेता प्रफुल्ल मुद्रामा देखिएका छन्।

होटल मेरियट बाहिर भेला भएका पत्रकारसँग दुवै जनाले कुनै प्रतिक्रिया दिएनन्।

दुवै नेताबीच एमालेलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको जनाएको छ। यसअघि दिउसो एमाले सचिव योगेश भट्टराईले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। एमाले ब्युँतिएसँगै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय गरेका थिए।

उनले माओवादीबाट आएका रामबहादुर थापा बादलसहित २७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए भने नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए।

त्यससँगै एमाले विवाद चुलिएको थियो। नेपाल पक्षले समानान्तर कमिटी गठन गर्दै आइरहेको छ।

पछिल्लो पटक ओलीले नेपालसहित २७ सांसदको पद खोस्ने गरी स्पष्टीकरण सोधेका थिए। यहिबीचमा ओली र नेपालबीच वार्ता भएको हो।

प्रकाशित मिति: २०:२३ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्