नेपाल पक्षले ओलीले साेधेकाे स्पष्टीकरणको जवाफ दिने, कारबाही गरे अदालत जाने
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएको छ। ओलीले कारबाही गरे अदालत जाने निर्णय गरेको छ।
काठमाडौं, वैशाख ७ : नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएको छ। ओलीले कारबाही गरे अदालत जाने निर्णय गरेको छ।
मंगलबार बसेको नेपाल समूहका सांसदको आकस्मिक बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निश्कर्ष निकालेको हो। ओलीले नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।
उनीहरुलाई दुई दिनभित्र स्पष्टीकरण बुझाउन समय दिएको छ। स्पष्टीकरण चित्त नबुझेमा दल र सांसदबाट कारबाही गर्ने चेतावनी दिएको छ।
अध्यक्ष ओलीले स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसदको बैठक बसेको हो। बैठकले कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको सांसद रामकुमारी झाँक्रीले बताइन्।
नेपाल पक्षका सांसदले ओलीले सोधेको स्पष्टीकरण जवाफ दिन लायक नभएको जनाएको छ। तर, जवाफ नदिएमा प्रतिरक्षा नगरेको ठहरिने भएकाले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको हो।
त्यस्तै, ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि नेपाल पक्ष नजाने निर्णय गरेको छ। ओलीले वैशाख १० गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।
नेपाल पक्षले २०७५ जेठ ३ गते भन्दा पहिलेको एमाले मात्रै आफूहले चिन्ने जनाएको छ। अध्यक्ष ओलीले गत फागुन २८ गते गरेका निर्णय फिर्ता नहुँदासम्म कुनै पनि बैठकमा नबस्ने जनाएको छ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)