Kathmandu Press

राजनीतिक भविष्य सिध्याइदिन्छु भन्नेलाई नै सिध्याइदिए : नेपाल

कांभ्रे, वैशाख ५ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अरुको राजनीतिक भविष्य सिध्याइदिन्छु भन्नेकै कर्णाली प्रदेशमा भविष्य सिध्याइएको बताएका छन्।उनले कर्णाली प्रदेशमा...
राजनीतिक भविष्य सिध्याइदिन्छु भन्नेलाई नै सिध्याइदिए : नेपाल

कांभ्रे, वैशाख ५ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अरुको राजनीतिक भविष्य सिध्याइदिन्छु भन्नेकै कर्णाली प्रदेशमा भविष्य सिध्याइएको बताएका छन्।

उनले कर्णाली प्रदेशमा एमाले सांसदहरुले फ्लोर क्रस गरेको विषय निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएपछि साथीहरुले उनकै भविष्य सिध्याइदिएको जिकिर गरे।

नेपालले भने, ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, मर्ता क्या नै कर्ता भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ।’

कांभ्रेमा समानान्तर कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको शैलीको कारण यस्तो परिणाम आएको बताए। ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ, मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो,' नेपालले भने, 'उनीलाई संगठन चाहिएको छैन, विधि चाहिएको छैन, पार्टी र आन्दोलन चाहिएको छैन।’

कर्णाली प्रदेशमा एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए। जसले गर्दा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका थिए। त्यसबारेमा वरिष्ठ नेता नेपालले बुझ्न नपाएको प्रतिक्रिया दिए।

नेपालले ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा लागेको बताए। उनले भने, ‘पत्रकारको चुनाव भएको थियो, हाम्रो गठबन्धनले जित्यो, माधव नेपालका एकरएक मान्छेलाई धक्का दिइनेछ, एउटा सिटमा ल्याउन दिइने छैन भनेपछि ११ वटा संगठन एकातिर, केपी ओलीको सानो गुट एकातिर भएपछि केन्द्रीय कमिटीमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने स्थिति बन्यो, धूलो चटाइदिए साथीहरुले।’

ओलीलाई दम्भ र निरंकुश शैली त्यागेर जेठ २ गतेको स्थितिमा फर्कन नेपालले आग्रह गरे। जेठ २ गतेको अवस्थामा फर्किए मिलेर जान तयार रहेको बताए। नेपालले भने, ‘हामी व्यक्तिको विरोधी हैनौं, प्रवृत्तिको विरोध गरेका हौं। हामीले उहाँलाई हटाउन चाहेको हैन, अझै २ वर्ष नेतृत्व गर्नुस् तर यस्तो धुन्धकारी निर्णय गर्दै नजानुस्।’

नेपालले ओलीका कारण एमाले गम्भीर संकटमा पुगेको बताए। ओली सच्चिए अझै पनि मिलेर जाने ठाउँ रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २०:१७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्