Kathmandu Press

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

काठमाडौं, वैशाख ५ : सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन्।सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक,...
संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

काठमाडौं, वैशाख ५ : सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन्।

सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी शुरु भएको र अहिले पनि त्यो जारी रहेको बताए। नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौंमा भएको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले भने, 'संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधैंभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन।'

उनले महान् बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान् सत्यको जन्म हुने उल्लेख गरे। मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताए।

उनले भन्नेले के भन्छन् भन्ने कुरालाई वास्ता नगरी लुरुलुरु अगाडि बढिरहेको बताए। 'मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन,' सभामुख सापकोटाले भने।

उनले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पारे। जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताए।

सभामुख सापकोटाले मुलुकमा अहिले तटस्थको होस् भनेर चाहनेभन्दा पनि मेरो पक्षमा काम गरेन अथवा मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनीहित भावना देखिएको बताए। उनले आफूले जिम्मेवारी सम्हालुञ्जेल देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाए।

त्यसका लागि कुनै कुराको त्याग गर्न र जोखिम लिन कठिनाइ नहुने उनको भनाइ थियो। यसमा पत्रकारले शक्तिशाली जनमत बनाइरहेकामा पत्रकारिता क्षेत्र प्रति नै गर्व लागेको उनले सुनाए।

राज्यको महान् बहसमा सामेल हुन सबैलाई आग्रह गर्दै सभामुख सापकोटाले बहस छेडिएपछि त्यो सही निष्कर्षमा पुग्ने र सत्यको अन्वेषण हुने बताए। उनले मुलुकसामु चुनौती खडा भएकाले त्यसलाई सामना गर्दै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।    

सभामुख सापकोटाले ठीक ढङ्गले काम गर्ने हो भने उत्पन्न समस्या समाधान गर्ने सन्दर्भमा कुनै कठिनाइ नहुनेसमेत बताए। हरेक भयानक सङ्कटका बीचमा महान् अवसर रहने उल्लेख गर्दै उनले सङ्कट आउँदैमा चिन्तित हुनु नपर्ने बताए।
'पहिलेपहिले समुद्र मन्थन भनिन्थ्यो अहिले, महान् बहसको बीचबाट अघि बढेका छौँ, कहिलेकाहीँ शून्य–शून्य जस्तो अन्योल र अलिकति राजनीतिक शून्यताको स्थिति देख्नुभएको छ नी, त्यो बाहिरको आवरणमा मात्रै हो, भित्रभित्रै बहसमा छ, निस्किएर प्रष्फुटन हुन्छ,' सभामुख सापकोटाले भने।

उनले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन सङ्कल्पका साथ अघि बढेकाले गुणात्मक कानून निर्माणमा कुनै सम्झौता नहुने प्रष्ट्याए। विधेयक अड्काएको आरोप खेप्नु भएका सभामुख सापकोटाले त्यसलाई सङ्केत गर्दै सार्वजनिक कानून निर्माण गर्दा एउटा शब्दावलीले जमीन–आसमानको फरक पार्ने हुँदा सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्