बादलको ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने
काठमाडौं, वैशाख ५ : रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभा सदस्यबाट आज (आइतबार) पदमुक्त भएका छन् । अब उनको ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने...
काठमाडौं, वैशाख ५ : रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभा सदस्यबाट आज (आइतबार) पदमुक्त भएका छन् । अब उनको ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बादलको सांसद पद रिक्त गरेका हुन्। एमालेमा प्रवेश गरेका बादलकाे सांसद पद खारेजीका लागि माओवादी केन्द्रले पत्र पठाएको थियाे । सांसद पद खारेज भएसँगै उनको गृहमन्त्री पद पनि स्वतः रिक्त भएको छ।
राष्ट्रिय सभाका कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा त्यसको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा उल्लेख छ।
बादल नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी आजै पुनः गृहमन्त्री नियुक्त हुँदैछन् । आज अपरान्ह ५ बजे उनलाई शपथ खुवाउने कार्यक्रम छ।
सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार बादलले पुनः गृहमन्त्रीका रूपमा शपथ लिन लागेका हुन्।
माओवादी केन्द्र पृष्ठभूमि भएका बादललाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते एमाले केन्द्रीय सदस्य बनाएका थिए।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)