गाउँमा हाइभाेल्टेज करेन्ट प्रवाह, एकको मृत्यु, १५ घाइते
धनकुटा, वैशाख ४ : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर धनकुटाको महालक्ष्मी नगरपालिका ४ चानुवामा एक जनाको मृत्यु भएको छ भने १५ जना...
धनकुटा, वैशाख ४ : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर धनकुटाको महालक्ष्मी नगरपालिका ४ चानुवामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ।
शनिबार साँझ एकाएक हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेको जनाएको छ। करेन्ट लागेर महालक्ष्मी नगरपालिका ४ भुटडाँडाका ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले बताए। मोबाइल चार्ज गर्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए।
त्यस्तै, करेन्ट लागेर भुटडाँडाकै ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, नौ वर्षीया सावित्रा निरौला घाइते भएका छन्।
यस्तै, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बु, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएको प्रहरीले जनाएको छ। केहीलाई टिभीको प्लेग जोड्ने क्रममा र केहीलाई मोबाइल चार्ज गर्दा करेन्ट लागेको प्रहरीको भनाइ छ।
घाइतेमध्ये आठ जना गम्भीर रहेका छन्। उनीहरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। अन्य सात जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
एकाएक हाइभोल्टेज करेन्ट प्रवाह हुँदा गाउँभरिका विद्युतीय सामान बिग्रिएका छन्। केहीको टिभी र केहीको मोबाइल बिग्रिएको स्थानीय बासिन्दाले बताएका छन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)