Kathmandu Press

रिकी पोन्टिङको ब्याटिङमा पृथुको मन

क्रिकेटबाहेक म फुटबललाई फलो गर्छु । सायद म मात्र होइन, अधिकांशले फुटबललाई फलो गर्छन्। नेपालको खेल हुँदा मैदानमै पुगेर पनि हेर्ने गरेको छु, विश्वकप र युरोपकप त छुटाउँदिनँ।
रिकी पोन्टिङको ब्याटिङमा पृथुको मन

पृथु बास्कोटा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य हुन्। लामो समय उमेर समूह र सिरियर टिमबाट खेलेका अलराउन्डर पृथु सन् २०१५ यता भने राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन्।

चोटले ६ वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका उनी राष्ट्रिय टिममा पुनरागमनको पर्खाइमा छन्। पछिल्लो सयम भएका घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका पृथुको पुनरागमनको पर्खाइ कोरोना महामारीले लम्ब्याएको छ। उनी गत फागुनमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा परेका थिए, कोरोना कहरका कारण प्रतियोगिता रद्द भयो।

एकदिवसीय क्रिकेटका लागि सुहाउँदा ब्याट्सम्यान पृथु ४ वैशाखदेखि सुरु त्रिकोणात्मक टी–२० सिरिजको टिममा छैनन्। उनी अहिले यूएस कप खेल्न अमेरिकामा छन्। पृथुसँगै बसन्त रेग्मीले नेपाली राइनोज क्रिकेट क्लबबाट यूएस कप खेलिरहेका छन्। पृथुसँग काठमाडौं प्रेसका लागि महेश कार्कीले गरेको संवादः

Hardik ivf

खेलबाहेक फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ?

अहिले बढी क्रिकेटमै फोकस गरिरहेको छु। अन्य काममा खासै लागेको छैन । कोभिडले गर्दा फुर्सदमा परिवार र साथीभाइहरूसँगै रमाइलो गरिरहेको हुन्छु। पहिला रेस्टुराँ व्यवसायमा लागेको थिएँ, तर त्यो पनि छाडेको धेरै भइसक्यो।
  
तपाईं आफैँ क्रिकेटर, तपाईंलाई चाहिँ कुन टिम मन पर्छ ?

म सानैदेखि अस्ट्रेलियन क्रिकेटलाई फलो गर्छु। अस्ट्रेलियाकै खेल हेरेर हुर्किएकाले मेरो फेभरेट टिम अस्ट्रेलिया हो । र, जहिले पनि हुन्छ। त्यसवेला अन्तर्राष्ट्रिय क्रिकेटमै अस्ट्रेलियाको राज थियो, त्यसैले म पनि आकर्षित भएँ।

मन पर्ने क्रिकेटर नि ?

म अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको ब्याटिङको फ्यान हुँ, सन्न्यास लिइसके पनि उनलाई फलो गर्छु । टीभीमा उनकै ब्याटिङ हेरेर हुर्किएँ र आफू पनि ब्याट्सम्यान बनेँ। अहिले पनि पोन्टिङका ब्याटिङका भिडियोमा रमाउँदै सिक्ने गरेको छु। उनले मैदानमा ब्याटिङ गरेको हेर्दा छुट्टै ऊर्जा आउँछ ।

क्रिकेटबाहेक तपाईंलाई मनपर्ने अर्को खेल कुन हो?

क्रिकेटबाहेक म फुटबललाई फलो गर्छु । सायद म मात्र होइन, अधिकांशले फुटबललाई फलो गर्छन्। नेपालको खेल हुँदा मैदानमै पुगेर पनि हेर्ने गरेको छु, विश्वकप र युरोपकप त छुटाउँदिनँ। क्लब फुटबलका ठूला खेल पनि समय मिलेसम्म हेर्छु।

च्यानल चेन्च गरिरहँदा टेनिस, बास्केटबल, बेसबल आइरहेको छ भने त्यो पनि हेर्छु । स्पोर्टस् पर्सन भएपछि सबैजसो खेल हेर्न रुचि हुने रहेछ।

फुटबलमा कुन टिम मनपर्छ ?

मेरो फेवरेट टिम म्यान्चेस्टर युनाइटेड हो । बच्चैदेखि युनाइटेडको खेल हेरेको छु, ‘म्यानयू’को त्यो रातो जर्सी एकदमै मनपर्छ। त्यसबेला इंग्लिस फुटबलमा सर एलेक्स फर्गुसन, म्यान्चेस्टर युनाइटेडको राज नै थियो, त्यसैले म पनि त्यतैतिर तानिएँ। फुटबललाई क्रिकेटभन्दा पहिलादेखि नै फलो गरिरहेको छु। अहिले पनि फुर्सदमा फुटसल खेलिरहेको हुन्छु।

खेलाडीचाहिँ मलाई पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मनपर्छ। युनाइटेडमा छँदैदेखि रोनाल्डोलाई म फलो गरिरहेको छु। रोनाल्डो मन पर्नुको कारण उनले गर्ने मिहिनेत हो। उनमा गज्जबको ‘वर्क इथिक’ छ । उनी नयाँ खेलाडीका लागि इन्स्पिरेसन पनि हुन् । उनी मिहिनेतले बनेका फुटबलर हुन्।

फिल्म कत्तिको हेर्नुहुन्छ ?

फुर्सदमा अमेजन प्राइम, नेटफ्लिक्समा फिल्म, सिरिजहरू पनि हेर्छु । हलमै गएर पनि हेर्छु तर अहिले हलमा गएर फिल्म हेर्ने अवस्था छैन। प्रायः एक्सन मुभी मन पराउँछु, धेरैचाहिँ इंग्लिस फिल्म हेर्छु, उनीहरूको साउन्डसिस्टम, भीएफक्स एकदमै राम्रो हुन्छ । बलिउड र नेपाली फिल्म पनि हलमै गएर हेरेको छु।

बलिउडमा मलाई ऋतिक रोशन मन पर्छ। नेपालीमा चाहिँ ठ्याक्कै यही कलाकार मन पर्छ भन्ने छैन।

पुस्तक अध्ययनमा रुचि?

त्यस्तो धेरै होइन, कहिलेकाहीँ पढ्छु, अहिलेचाहिँ पढेको छैन । एकपटक मुड चल्यो, एक महिना पूरै किताब मात्रै पढेँ, त्यसवेला तीनवटा किताब पढेँ । तीनवटै इंग्लिस लिटरेचरका किताब थिए, धेरै अगाडि भएकाले नामचाहिँ बिर्सेँ।
 
घुमफिरलाई कति समय दिनुहुन्छ?

क्रिकेटबाहेक मलाई मनपर्ने भनेकै घुम्न हो । काठमाडौं वरिपरका सबै ट्रेलहरू घुमेको छु। प्रायः हाइकिङ गइरहेको हुन्छ। गत डिसेम्बरमा मात्रै म गोसाइँकुण्ड गएँ। त्यसअघि मार्दी पनि गएको थिएँ। दुई वर्ष अघिदेखि प्रत्येक वर्ष एउटा ट्रेक जाने निणर्य गरेको छु।

मलाई नेपाल जहाँ पनि रमाइलो र राम्रो लाग्छ । घुम्न जहाँ गए पनि रमाइलो नै हुन्छ, पोखरा, सौराहालगायत ठाउँ अलि विशेष लाग्छ, पुग्न सहज भएर पनि होला। अब सेफोक्सुण्डो जाने योजना छ, समय मिल्यो भने यही वर्ष जान्छु।

सामाजिक सञ्जालले कत्तिको ‘इंगेज’ गराउँछन्?

म सामाजिक सञ्जालबाट टाढै रहन रुचाउँछु। त्यति धेरै चलाउँदिनँ, फेसबुक त डिएक्टिभ भएको धेरै भइसक्यो, इन्स्टाग्रामचाहिँ चलाउँछु, अनि कहिलेकाहीँ भाइबर पनि ।

मन पर्ने खाना?

खानामा यही चाहिन्छ भन्ने छैन । प्रायः नर्मल कुरा नै खान्छु, स्पेसल छैन।
 

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्