संसद्को तेस्रो ठूलो दल नै अनुपस्थित ‘सर्वदलीय बैठक’
प्रधानमन्त्री केपी ओलीले बोलाएको ‘सर्वदलीय बैठक’मा संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र अनुपस्थित भएको छ।
काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी ओलीले बोलाएको ‘सर्वदलीय बैठक’मा संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र अनुपस्थित भएको छ।
प्रतिनिधिसभामा माओवादी केन्द्र ५३ (हाल ४९) सांसदसहित तेस्रो ठूलो दल हो। उक्त पार्टीका नेताहरूले सर्वदलीय बैठकबारे औपचारिक जानकारी नभएको बताएका छन्।
पोखरामा रहेका माओवादी केन्द्रका नेता देव गुरुङले बैठकबारे जानकारी नभएको बताए।
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेता, जसपा अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत नेता मात्र सहभागी भए।
संसद्मा उपस्थित चार राष्ट्रिय दलमध्ये माओवादी केन्द्र नै बैठकमा अनुपस्थित भएको हो। नेमकिपा र राप्रपाका १-१ सांसद उपस्थित भए पनि गत निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका छैनन्।
सत्तारुढ एमालेकै माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेता बैठकमा उपस्थित भएनन्। प्रधानमन्त्री ओली समूहका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेता मात्र बैठकमा उपस्थित भए। यस्तै, संसद्को चौथो ठूलो दल जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा उपस्थित भएनन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)