फ्लोर क्रस गर्ने सांसदलाई निष्कासन गर्न सिफारिश
कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार जनालाई सांसदलाई एमालेले पार्टीबाट निष्कास गर्न सिफारिश गरेको छ भने सांसदबाट हटाउने प्रक्रिया थालेको छ।
सुर्खेत, वैशाख ३ : कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार जनालाई सांसदलाई पार्टीबाट निष्कासन गर्न नेकपा (एमाले) प्रदेश संसदीय दलले सिफारिश गरेको छ।
शुक्रबार साँझ बसेको प्रदेश संसदीय दलको बैठकले दलको निर्देशनविपरीत फ्लोर क्रस गर्ने चारै सांसदलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिश गरेको हो। एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले कारबाहीका लागि सिफारिश गरेको हो।
शुक्रबार प्रदेश सभा बैठकमा एमाले सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादर शाहीलाई मत दिएका थिए। उनीहरुलाई पार्टीबाट निस्कासन गर्नको लागि सिफारिश गर्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए।
यससँगै चारै जनालाई सांसदबाट पनि हटाउने प्रक्रिया एमाले संसदीय दलले थालेको छ। चारै जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको शाहले बताए।
सांसदले ह्वीप नमानेमा वा दल त्याग गरेमा सांसदबाट हटाउन सकिने व्यवस्था छ। सांसदबाट हटाउनका लागि सभामुखलाई सिफारिश गर्नुअघि स्पष्टीकरणको मौका दिनुपर्छ। त्यहिअनुसार एमाले संसदीय दलले २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ।
एमालेका चार जना सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको छ। शाहीले प्रदेश सभामा विश्वासको मत मागेका थिए। उनको पक्षमा २२ र विपक्षमा १५ मत परेका थिए। सरकार जोगाउनका लागि २० मत आवश्यक थियो।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)