एकलौटी गर्ने प्रवृतिविरुद्ध फ्लोर क्रस : सांसद ज्वाला
सुर्खेत, वैशाख ३ : कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेका नेकपा (एमाले) सांसद प्रकाश ज्वालाले पार्टीमा एकलौटी गर्ने प्रवृतिको विरोधमा फ्लोर क्रस गरेको...
सुर्खेत, वैशाख ३ : कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेका नेकपा (एमाले) सांसद प्रकाश ज्वालाले पार्टीमा एकलौटी गर्ने प्रवृतिको विरोधमा फ्लोर क्रस गरेको बताएका छन्।
प्रदेश सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद ज्वावाले पार्टी कब्जा गर्ने प्रवृतिविरुद्ध बाध्य भएर यो कदम चाल्नु परेको बताए। 'पार्टी कब्जा गर्ने र एकलौटी गर्ने प्रवृत्तिलाई पराजित गर्न फ्लोर क्रस गरेका हौं,' सांसद ज्वावाले भने।
पार्टीमा सबैको योगदान रहेको र सबैको सम्मान हुनुपर्ने बताए। उनले भने, ‘पार्टीलाई एकतावद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन यो टुंगोमा आइपुगेका हौं । पार्टीभित्र सबैको योगदान छ, सबैको सम्मान हुनुपर्छ।’
उनले केन्द्रीय नेतृत्वकै निर्देशनमा फ्लोर क्रस गरेको पनि खुलाए। सांसद ज्वावाले भने, ‘केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं।’
पार्टी कारबाही गर्ने विषयमा पनि कुनै मतलब नभएको उनको भनाइ थियो। ‘पार्टीले जे कारबाही गरेपनि हामीलाई आपत्ति छैन, यस्तो बेला कारबाहीको पनि के अर्थ भयो र?,’ ज्वालाले भने।
कर्णाली प्रदेश सभामा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ। मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए।
त्यसमाथि भएको मतदानमा उनले २२ मत पाएका छन्। विपक्षमा १५ मत परेका छन् भने एक जना तठस्थ बसेका छन्।
कर्णाली प्रदेशसभामा माओवादीका १२, कांग्रसका ६ र एमालेका चार जनाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीले २२ मत पाएका हुन्। एमाले सभामुखबाहेक १९ जनामध्ये १५ जनाले विपक्षमा मतदान गरेका थिए।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)