Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेशसभामा प्रस्ताव गरे विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकारलाई प्रदेशसभाको विश्वास छ भनी विश्वासको मत प्रस्तुत गरेका छन्।
कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेशसभामा प्रस्ताव गरे विश्वासको मत

सुर्खेत, वैशाख ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकारलाई प्रदेशसभाको विश्वास छ भनी विश्वासको मत प्रस्तुत गरेका छन्।

त्यस क्रममा उनले आफ्नो सरकारले गरेका कामबारे प्रदेश सरकारलाई जानकारी दिएका थिए। केन्द्रमा आफ्नो पार्टीले एमाले सरकारलाई समर्थन कायम राख्दा पनि एमालेले आफूलाई दिएको समर्थन फिर्ता लिएकामा उनले असन्तुष्टी जनाएका थिए।

सत्ता साझेदार एमालेले एमालेले ४ चैतमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए। सरकारमा सहभागी एमालेका मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले २४ चैतमा राजिनामा दिएका थिए।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले १८ चैतमा मुख्यमन्त्री शाहीलाई अल्पमतमा परेको लिखित जानकारी दिएका थिए।

मुख्यमन्त्री शाही माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद थिए। तीमध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि सांसद पद गुमेको छ र माओवादी केन्द्रसँग १२ सांसद मात्र छन्। यस्तै, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाही एमालेबाटै निर्वाचित भएका हुन्। सोही कारण एमालेसँग १९ सांसद छन्। राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ।

४० सदस्यीय (हाल ३९) प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न मुख्यमन्त्री शाहीलाई कांग्रेस र राप्रपाको मतले मात्र पुग्दैन। कांग्रेसको समर्थन पाउँदा र एमालेको नेपाल-खनाल समूहका सांसदले फ्लोर क्रस गर्दा मात्र उनको पद जोगिने छ। एमालेको नेपाल-खनाल समूहमा नौजना सांसद छन्।
 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्