मुख्यमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न कर्णाली प्रदेशसभा बैठक सुरु
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुरले प्रस्ताव गरेको विश्वासको मतसम्बन्धी निर्णय गर्न प्रदेशसभाको बैठक सुरु भएको छ ।
सुर्खेत, वैशाख ३ : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुरले प्रस्ताव गरेको विश्वासको मतसम्बन्धी निर्णय गर्न प्रदेशसभाको बैठक सुरु भएको छ ।
सत्ता साझेदार एमालेले ४ चैतमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । सरकारमा सहभागी एमालेका मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले २४ चैतमा राजिनामा दिएका थिए ।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले १८ चैतमा मुख्यमन्त्री शाहीलाई अल्पमतमा परेको लिखित जानकारी दिएका थिए ।
मुख्यमन्त्री शाही माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद थिए । तीमध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि सांसद पद गुमेको छ र माओवादी केन्द्रसँग १२ सांसद मात्र छन् । यस्तै, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाही एमालेबाटै निर्वाचित भएका हुन् । सोही कारण एमालेसँग १९ सांसद छन् ।
४० सदस्यीय (हाल ३९) प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न मुख्यमन्त्री शाहीलाई कांग्रेस र राप्रपाको मतले मात्र पुग्ने छैन । एमालेको नेपाल–खनाल समूहका सांसदले फ्लोर क्रस गर्दा मात्र उनको पद जोगिने छ । उक्त समूहमा नौजना सांसद छन् ।
एमाले एकढिक्का रहँदा मुख्यमन्त्री शाहीले पदमुक्त हुनुपर्नेछ । र, एमालेको एकल सरकार निर्माण हुने सम्भावना छ । किनकि, मुख्यमन्त्री शाहीले २० मत प्राप्त गर्न सक्ने अवस्था छैन । एमालेले आफ्ना सांसदलाई अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)