बेंग्लुरुसँग आर्मीको लज्जास्पद हार
काठमाडौं, वैशाख २: एएफसी कपको प्ले अफको दोस्रो चरणम नेपाली टिम त्रिभुवन आर्मी क्लबले लज्जास्पद हार बेहोरेको छ। बुधबार गोवास्थित जिएमसी रंगशालामा भएको...
काठमाडौं, वैशाख २: एएफसी कपको प्ले अफको दोस्रो चरणम नेपाली टिम त्रिभुवन आर्मी क्लबले लज्जास्पद हार बेहोरेको छ। बुधबार गोवास्थित जिएमसी रंगशालामा भएको खेलमा आर्मी बेंग्लुरुसँग ५–० को लज्जास्पद हार बेहोर्न बाध्य भयो ।
पहिलो हाफमा बेंग्लुरुलाई गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा भने सम्हालिन सकेन र ५ गोल खान पुग्यो । बेंग्लुरुको जितमा राहुल भेके र सेलिटन सिल्भाले समान २ गोल गरे भने सुनिल क्षेत्रीले एक गोल गरे।
५१औं मिनेटमा राहुलले गोल गर्दै बेंग्लुरुलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो गोल गरेको १ मिनेट बित्न नपाउँदै बेंग्लुरुले अर्को गोल पनि गर्यो। ५२औं मिनेटमा सुनिलले टिमको अग्रता दोब्बर बनाए।
६१औं मिनेटमा सिल्भाको गोल गरेपछि आर्मीविरुद्ध बेंग्लुरु ३–०को अग्रता बनायो । त्यसको २ मिनेटपछि नै सिल्भाले गोल गरेपछि बेंगलुरुले ४–० को अग्रता बनायो । ६५औं मिनेटमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै बेंगलुरुलाई ५–० को जित दिलाए ।
प्ले अफको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले हराएर आर्मी प्लेअफको दोस्रो चरण पुगेको थियो । प्लेअफको अर्को चरणमा बेंग्लुरुले अब बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ।
ए डिभिजन लिग नजिते पनि नेपालमा क्लब लाइसेन्स पाउने एकमात्र टिम भएपछि आर्मीले एएफसी कप खेल्ने अवसर पाएको हो। ए डिभजिन लिग मच्छिन्द्र क्लबले जितेको थियो।











