कुम्भ मेलामा सहभागी उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

काठमाडौं, वैशाख १ : हरिद्वारमा कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ।
कुम्भ मेलाबाट फर्केपछि उनलाई विसन्चो भएको थियो। स्वाब परीक्षण गर्दा बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ।
उनले सामाजिक सञ्जालमार्फत पनि आफू कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले भनेका छन्, 'मलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ।'
सङ्क्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेसनमा बसेको र कोरोना भाइरसको सङ्क्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उनले बताएका छन्। चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको जनाएको छ।
उनले पछिल्लो केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई तत्काल कोरोना भाइरसको परीक्षण गराउनसमेत आह्वान गरेका छन्। उनीसँगै अन्य केही उच्च अधिकारी र उनको सम्पर्कमा रहेका केही व्यक्तिसमेत सङ्क्रमित भएको जनाइएको छ।
भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार मात्रै कम्तीमा १८ हजार २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने अरु ८५ जनाको मृत्यु भएको छ।












