त्रिकोणात्मक सिरिजका नेपाली टिमको घोषणा
काठमाडौं, वैशाख १ : वैशख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुने त्रिकोणातमक टि–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको...
काठमाडौं, वैशाख १ : वैशख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुने त्रिकोणातमक टि–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। सिरिजका लागि मुख्य प्रशिक्षक डेभ वाटमोरले बुधबार १५ सदस्यीय टिम घोषणा गरेका हुन् ।
नेपाली राष्ट्रिय टिममा पहिलो पटक ओपनर आसिफ सेख र स्पिनर साहब आलमले पनि स्थान बनाएका छन्। गत महिना सम्पन्न प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि आसिफ र साहबले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा आसिफ र साहबसँगै पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, आरिफ सेख, सुशल भारी, करण केसी र विनोद भण्डारी छन् । यस्तै, कुशल भुर्तेल, अभिनाश बोहरा र कलमसिंह ऐरीले पनि टिममा स्थान बनाएका छन।
नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित टि–२० सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ । लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।
सिरिज खेल्ने नेदरल्यान्ड्स र मलेसियाको टिम मंगलबार नै नेपाल आइसकेका छन्। वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्सबीचको खेलसँगै सिरिज सुरु हुनेछ।











