मुम्बईले कोलकातालाई १० रनले हरायो
काठमाडौं, वैशाख १ : १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स विजयी भएको छ। मंगलबार एमए चिदम्बरम स्टेडिमयम चेन्नईमा भएको...
काठमाडौं, वैशाख १ : १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स विजयी भएको छ। मंगलबार एमए चिदम्बरम स्टेडिमयम चेन्नईमा भएको रोमाञ्चक खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई १० रनले हरायो।
पहिलो ब्याटिङ गर्दै मुम्बई दिएको १५३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले उत्कृष्ट सुरुवात गरेपनि २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।
कोलकाताका सुभमन गिल र नितिश रानाले पहिलो विकेटका लागि ७२ रनको सझेदारी गर्दै उत्कृष्ट सुरुवात दिएका थिए । तर, गिल र नितिश आउट भएपछि कोलकाताको टिम पुरै धरासायी भयो ।
नितिशले सर्वाधिक ५४ रन बनाए भने गिलले ३३ रन बनाए। नितिशले ४७ बलमा ७ चौका र २ छक्का प्रहार गरे भने गिलले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
मुम्बईलाई रोमाञ्चक जित दिलाउने क्रममा राहुल चहरले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्डले २ र क्रुनल पाण्ड्याले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले इनिङको अन्तिम बलमा अलआउट हुनुअघि१५२ रन बनायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।
यस्तै, कप्तान रोहित शर्माले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए भने पाण्ड्या दाजुभाइ हार्दिक र क्रुनलले समान १५ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले टि–२० करिअरकै उतकृष्ट बलिङ गर्दै २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। यस्तै, पाट कमिन्सले २ विकेट लिए ।
मुम्बईको यो पहिलो जित हो भने कोलकाताको पहिलो हार हो । पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंग्लोरसँग २ विकेटले पराजित भएको थियो भने कोलकाताले सनराइजर्स हैदरावादलाईलाई १० रनले हराएको थियो।











