Kathmandu Press

दक्षिण अफ्रिकी भेरियन्टका लागि प्रभावकारी छैन फाइजर–बायोन्टेक खोप

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टलाई फाइजर–बायोन्टेक खोपले विकास गर्ने प्रतिरक्षा प्रणालीले परास्त गर्न नसक्ने एक अनुसन्धानले देखाएको छ ।अनुसन्धानमा संलग्न एक...
दक्षिण अफ्रिकी भेरियन्टका लागि प्रभावकारी छैन फाइजर–बायोन्टेक खोप

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टलाई फाइजर–बायोन्टेक खोपले विकास गर्ने प्रतिरक्षा प्रणालीले परास्त गर्न नसक्ने एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा संलग्न एक विज्ञले एएफपीलाई बताएअनुसार फाइजर–बायोन्टेक खोप लगाएका व्यक्ति पनि कोरानाको उक्त भेरियन्टबाट संक्रमित भए । तर, खोप लगाएका व्यक्तिमा उक्त भेरियन्टले गम्भीर बिरामी बनाउँछ कि बनाउँदैन भन्नेबारे अनुसन्धानकर्मीले प्रष्ट्याएका छैनन् ।

तेल अभिभ विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक ‘क्लालिट हेल्थ सर्भिस’ले खोप नलगाएका चार सय कोरोना संक्रमित र आंशिक वा पूर्ण खोप लगाएका चार सयजनामा अध्ययन गरेको थियो । इजरायलमा कोरोनाको दक्षिण अफ्रिकी भेरियन्टको संक्रमण हालसम्म एक प्रतिशतभन्दा कम देखिएको छ ।

Hardik ivf

अध्ययनमा सहभागी एक सय ५० जनाले पूर्ण खोप लगाएका थिए र उनीहरूलाई यसअघि कोरोना संक्रमण पनि भएको थियो । उनीहरूमा दक्षिण अफ्रिकी भेरियन्टको प्रसार दर खोप नलगाएका व्यक्तिको तुलनामा आठ गुणा बढी पाइएको छ । ‘यसको मतलव फाइजर–बायोन्टेक खोप अत्यधिक सुरक्षित भए पनि सम्भवतः कोरोनाको दक्षिण अफ्रिकी भेरियन्ट (बी१३५१) विरुद्ध प्रभावकारी छैन,’ अनुसन्धान रिपोर्टमा भनिएको छ ।

तेल अभिभ विश्वविद्यालयका प्राध्यापक एडी स्टर्नका अनुसार दक्षिण अफ्रिकी भेरियन्ट फाइजर–बायोन्टेक खोपको सुरक्षा घेरा तोड्न केही हदसम्म सक्षम देखिएको छ । ‘हामीले धेरै थोरै खोप लगाएका मानिस ‘बी१३५१’ बाट संक्रमित भएको पायौँ, यो रोगको नतिजाका बारेमा अहिल नै बोल्नु हतारो हुनेछ,’ उनले भने ।

रोकथामका उपाय

फाइजर–बायोएनटेक र मोडर्नाले सञ्चालन गर्ने मेडिकल जर्नल ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित रिपोर्टअनुसार खोपपछि विकास भएको एन्टिबडीले दक्षिण अफ्रिकी भेरियन्टबाट कम सुरक्षा प्रदान गरेको देखिएको हो ।

दक्षिण अफ्रिकी भेरियन्टका हकमा खोपको प्रभावकारिताबारे भएको यो पहिलो अनुसन्धान हो । इजरायलमा ५३ लाखजनाले खोपको पहिलो डोज पाएका छन् । यस्तै, ४९ लाखजनाले दुवै डोज खोप लिइसकेका छन् । ‘क्लालिट’को एक अध्ययनअनुसार खोप लगाएका १२ लाख इजरायलीमध्ये ९४ प्रतिशतमा फाइजर–बायोन्टेक खोप प्रभावकारी पाइएको थियो ।

खोप अभियानको व्यापकतापछि इजरायलले यसअघि लगाइएका धेरै प्रतिबन्ध खुकुलो बनाएको छ । तर, अनिवार्य मास्क लगाउने र ग्रिन पासपोर्टको सिस्टमलगायत उपायलाई यथावत् राखिएको छ । खोप प्राप्त गरिसकेका मानिसलाई पनि सीमित ठाउँमा मात्र जान दिइएको छ ।

फाइजर–बायोन्टेक खोपको सुरक्षा शक्तिलाई दक्षिण अफ्रिकी भेरियन्टले तोड्न सक्ने जोखिमका बावजुद भाइरसविरुद्ध खोप अभियान, मास्क लगाउने र अन्य सुरक्षा उपायका कारण उक्त भेरियन्टको प्रसार सीमित गर्न मद्दत पुगेको अनुसन्धानकर्मी रन बालिसरले बताए । ती सावधानीका कारण दक्षिण अफ्रिकी भेरियन्ट फैलिन नपाएको र त्यसको प्रसार हुन सक्ने सीमा ननाघ्नुको विकल्प नदेखिएको बालिसरले बताए ।

- एएफपीबाट
 

प्रकाशित मिति: ०६:२७ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्