संसदीय समितिका सदस्यहरू हेरफेर
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि संसदमा एमाले ठूलो दलको हैसियतमा मात्र रहेपछि सोहीअनुरूप संसदीय समितिका सदस्यहरू हेरफेर भएको सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभालाई जानकारी दिए।
काठमाडौं, चैत ३० : संसदीय समितिहरूका सदस्य हेरफेर भएका छन्।
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि संसदमा एमाले ठूलो दलको हैसियतमा मात्र रहेपछि सोहीअनुरूप संसदीय समितिका सदस्यहरू हेरफेर भएको सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभालाई जानकारी दिए। सभामुख सापकोटाले प्रस्तुत गरेका नाम प्रतिनिधिसभामा पारित भएको छ।
नयाँ हेरफेरअनुसार सांसदहरू घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुन अर्थ समिति सदस्य बनेका छन्। कृष्णबहादुर महरा र लीलादेवी सिटौला अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन्। रामेश्वर राय यादव उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता समितिमा, शक्तिबहादुर बस्नेत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, जानकीदेवी राम र सुवर्ण ज्वारचन महिला तथा सामाजिक समिति र मोहनप्रसाद पाण्डे राज्य व्यवस्था तथा सुशासन समितिमा सदस्य बनेका छन्।
यस्तै, बिना मगर विकास तथा प्रविधि, गिरिराजमणि पोखरेल र योगेशकुमार भट्टराई शिक्षा तथा स्वास्थ्य, गोकुलप्रसाद बाँस्कोटा सार्वजनिक लेखा समितिमा चयन भएका छन्। विनोद चौधरी राज्य व्यवस्थाबाट अर्थमा, पुष्पाकुमारी कर्ण कायस्थ सार्वजनिक लेखाबाट अन्तर्राष्ट्रिय सम्बन्ध, सन्तकुमार थारू शिक्षा तथा स्वास्थ्यबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र चुडामणि खड्का अर्थबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्थाबाट कानून, न्याय तथा मानव अधिकार, बिनादेवी बुढाथोकी सार्वजनिक लेखाबाट कानून, न्याय तथा मानव अधिकार, दुर्गाकुमारी विश्वकर्मा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितबाट महिला तथा सामाजिक समितिमा चयन भएका छन्।
यसैगरी, महेश बस्नेत कृषि, सहकारी तथा प्राकृतिक स्रोतबाट राज्य व्यवस्था, खेमप्रसाद लोहनी महिला तथा सामाजिकबाट राज्य व्यवस्था, दामोदर भण्डारी विकास तथा प्रविधिबाट राज्य व्यवस्था, गजेन्द्रबहादुर महत शिक्षा तथा स्वास्थ्यबाट विकास तथा प्रविधि, पम्फा भुसाल राज्य व्यवस्थाबाट सार्वजनिक लेखा र राजेन्द्रप्रसाद गौतम कानून, न्याय तथा मानव अधिकारबाट सार्वजनिक लेखा समितिमा पुगेका छन्।
यस्तै, कार्यव्यवस्था समितिमा उमाशंकर अरगरिया, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ चयन भएका छन्।











