प्रदेशसभा १ काे बैठक आज पनि अवरुद्ध
विराटनगर, चैत ३० : प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि अवरुद्ध भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी...
विराटनगर, चैत ३० : प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि अवरुद्ध भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) ले बैठक अवरुद्ध गरेका हुन्।
सोमबारको बैठक पनि दलहरुले अवरुद्ध गरेपछि बैठक वैशाख ५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान नसकेको भन्दै प्रदेशसभाको बैठक तेस्रोपटक अवरुद्ध भएको हो।
विपक्षी दलहरुले यसअघि चैत २६ र २७ गतेको बैठक पनि अवरुद्ध पारेका थिए। बैठक आरम्भ भएलगत्तै सभामुखले बैठक सञ्चालन गरेपछि सबै विपक्षी दलहरुले उठेर सदन अवरुद्ध गरे। उपसभामुख सरस्वती पोखरेलले दलहरुका तर्फबाट आफ्ना कुरा राख्न आग्रह गरिन्।
त्यसक्रममा जसपा संसदीय दलका नेता जयराम यादवले विपक्षी दलहरुले उठाएको माग तत्काल सम्बोधन नहुँदासम्म बैठक नल्न नदिने चेतावनी दिए। उाले सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नुलाई असक्षमता संज्ञा दिए।
पटकपटक एउटै विषयमा अवरुद्ध हुँदा समेत सरकारले सदनमा आएर जवाफ दिनुपर्नेमा बेवास्ता गरेको आरोप यादवले लगाए।
सोमबारको बैठक सुरु हुनुअघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेका थिए। झण्डै २ घण्टा चलेको बैठकमा बैठकमा हुँदै आएको अवरोध खोल्न मुख्यमन्त्री शेरधन रार्इले आग्रह गरे पनि बिनानिष्कर्ष टुंगिएको छ।











