एमालेको नेपाल-खनाल समूह समानान्तर कमिटी निर्माणमा व्यस्त
हालसम्म प्रदेश-१, प्रदेश-२, वागमती, गण्डकी र सुदूरपश्चिममा समान्तर कमिटी घोषणा भइसकेको छ। लुम्बिनी र कर्णाली प्रदेशमा समानान्तर कमिटी गठन गर्ने तयारी छ।
काठमाडौं, चैत ३० : एमालेको नेपाल-खनाल समूहले पाँचवटा प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ।
केन्द्रीय सदस्य डा. विजय पौडेलका अनुसार हालसम्म प्रदेश-१, प्रदेश-२, वागमती, गण्डकी र सुदूरपश्चिममा समान्तर कमिटी घोषणा भइसकेको छ। लुम्बिनी र कर्णाली प्रदेशमा समानान्तर कमिटी गठन गर्ने तयारी छ।
प्रदेश-१ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल संयोजक तोकिएका छन्।
प्रदेश-१ का ताप्लेजुङमा बलबहादुर साम्सोहाङ, तेह्रथुममा लक्ष्मण तिवारी, खोटाङमा बबि चाम्लिङ, संखुवासभामा हेमराज घिमिरे, उदयपुरमा ईश्वरमणि राउत, सुनसरीमा रमेश बस्नेत, पाँचथरमा कमल जवेगु, भोजपुरमा शरण राई र धनकुटामा अर्जुन राई नेपाल-खनाल समूहका अध्यक्ष बनेका छन्।
प्रदेश-२ मा सप्तरीमा गोविन्द न्यौपाने, सिरहामा प्रमोद यादव, धनुषामा रामचन्द्र पण्डित, सर्लाहीमा रेवती पन्त र रौतहटमा कमल यादव अध्यक्ष बनेका छन्।
यस्तै, वागमतीमा मकवानपुरमा मुनु सिग्देल, नुवाकोटमा नारायण खतिवडा, काभ्रेमा टोकबहादुर वाइवा, सिन्धुपाल्चोकमा झंक नेपाल, रामेछापमा शान्तिप्रसाद पौडेल अध्यक्ष बनेका छन्।
यस्तै, चितवनमा तेजेन्द्र खड्का, धादिङमा शिवराज कँडेल, रसुवामा पेम्बा तामाङ, दोलखामा भीम दाहाल, सिन्धुलीमा सूर्य पाख्रिन, ललितपुरमा हरिकृष्ण थापा, भक्तपुरमा रजन केसी र काठमाडौंमा वसन्त मानन्धर अध्यक्ष बनेका छन्।
गण्डकी प्रदेशमा गोरखामा यादव बस्नेत, तनहुँमा शंकरनारायण श्रेष्ठ, लमजुङमा रामबाबु अधिकारी, स्याङ्जामा रामचन्द्र भट्टराई, कास्कीमा धनराज आचार्य, नवलपरासी पूर्वमा धनञ्जय शर्मा, पर्वतमा भक्त कुँवर, म्याग्दीमा बालकृष्ण सुवेदी र बागलुङमा इन्द्रलाल सापकोटा नेपाल-खनाल समूहका अध्यक्ष बनेका छन्।
लुम्बिनीमा अर्घाखाँचीमा रामबहादुर चौहान र रूपन्देहीमा राजु गुरुङ, दाङमा टीकाराम खड्का, रोल्पामा हरिप्रसाद घर्ती र बाँकेमा अशोक कोइराला अध्यक्ष बनेका छन्।
यसैगरी, कर्णाली प्रदेशका सुर्खेतमा ध्रुव शाही, जुम्लामा तीर्थबहादुर बुढा, मुगुमा धर्मबहादुर शाही, हुम्लामा दल रावल र रुकुम पश्चिममा विमल पुन अध्यक्ष बनेका छन्।
सुदुरपश्चिमका कञ्चनपुरमा तारा लामा, कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा तारा जोशी, डोटीमा चक्र मल्ल, अछाममा शेरबहादुर कुँवर र बझाङमा दिलबहादुर सिंह अध्यक्ष बनेका छन्।
२८ फागुनमा प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको एमालेले एकपक्षीय रूपमा पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल-खनाल समूह आक्रामक रूपमा समानान्तर कमिटी गठनमा जुटेको छ। ४-५ चैतमा काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला त्यसको प्रस्थान विन्दु थियो।
नेपाल-खनाल समूहले पार्टी सुदृढीकरण र संगठन विस्तारको दुई महिने अभियान नै घोषणा गरेको छ। त्यसपछि विभिन्न जनवर्गीय संगठन र पार्टी कमिटीहरूमा समानान्तर कमिटी निर्माण तीव्र छ।
प्रधानमन्त्री ओलीले २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने नेपाल-खनाल समूहको माग अस्वीकार गर्दै आएका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरिएको ओली समूहले बताएको छ। चारै नेताले उक्त निर्णय अस्वीकार गरेका छन्।











