साेमालियामा आत्मघाती बम आक्रमणमा पाँचजनाको मृत्यु
मोगादिसु, २९ चैत : अफ्रिकी मुलुक सोमालियाको बाइडाओ सहरमा शनिबार एउटा रेस्टुरेन्ट बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने ६...
मोगादिसु, २९ चैत : अफ्रिकी मुलुक सोमालियाको बाइडाओ सहरमा शनिबार एउटा रेस्टुरेन्ट बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो । यद्यपि विस्फोटबाट उनी भने सुरक्षित छन्। प्रहरीले वारधरका कम्तीमा दुई जना अंगरक्षक घाइते भएको जनाएको छ।
प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको उक्त विस्फोटको आवाज सहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताए।
आतंकवादी संगठन अल कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। यस संगठनले अफ्रिकी मुलुकहरुमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ ।
प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ। यसैबीच मोगादिसुको हुरिआ जिल्लामा गरिएको बम विस्फोटमा परेर एक सैनिकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।
सोमालियामा सुरक्षा कमजोरी व्यापक रहेको भन्दै स्थानीयवासी चिन्तित हुन थालेका छन्। यसै वर्षको शुरुमा गरिने भनिएको आमनिर्वाचनमा ढिलाइ भएकाले पनि समस्या अरु बढ्दै गएको छ।












