Kathmandu Press

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

दुबई,  चैत २९ : संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । 

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन्। घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भने मोहम्मद अल–मुल्ला पुरुष हुन्।

सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन्। 

युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ।

यदि अल-माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन्। 

यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन्। उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए।

सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए। उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए । 
 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्