बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण
बैतडी, चैत २९ : बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा...
बैतडी, चैत २९ : बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।
पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । संक्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो ।
भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो ।
भारतसँग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो ।
यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।
भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।











