लोकतन्त्र जाेगाउन सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ : पूर्वराष्ट्रपति

नवलपुर, चैत २८ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए।
संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा. यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए। 'नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ,' यादवले भने, 'नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन्।'
राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताए।
संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा. यादवको भनाइ छ। 'संविधान जारी गर्दा तराई-मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ,' यादवले भने, 'तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो।'
संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो। सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताए।
जीवनवृत्तान्तमा आधारित कृति लोकार्पणका क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले यस क्षेत्रमा आफूले लगातार तीनपटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको बताए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले वर्तमान सरकारले विधिको शासन, जवाफदेही राजनीति र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको बरु उल्टो दिशातर्फ हिँडेको आरोप लगाए। कोरोनाका कारण राज्य शिथिल बनेको अवस्थामा यसबाट प्रभावित जनशक्तिका लागि राहतको कार्यक्रम ल्याउन नसकेको गुनासो गरे। (रासस)











