Kathmandu Press

कोरोना जोखिम हुन नदिन अनलाइन कक्षा सञ्चालन गर्न सकिने सीसीएमसीको प्रस्ताव

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा शनिबार बैठकले यस्तो प्रस्ताव गरेको हो।
कोरोना जोखिम हुन नदिन अनलाइन कक्षा सञ्चालन गर्न सकिने सीसीएमसीको प्रस्ताव

काठमाडौं, चैत २८ : कोभिड-१९ जोखिम हुन नदिन सहर, बजारका शैक्षिक संस्थाहरूले अनलाइन कक्षा सञ्चालन गर्न सक्ने प्रस्ताव कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको छ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा शनिबार बैठकले यस्तो प्रस्ताव गरेको हो। ‘संक्रमणको गम्भीरता हेरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अनलाइन कक्षा चलाउने निर्णय गर्न सक्छन् भन्ने प्रस्ताव गरेका छौँ,’ उपप्रधानमन्त्री पोखरेलले काठमाडौं प्रेससँग भने, ‘तथापि, सबै ठाउँका लागि एकै किसिमको निर्णय गर्ने कुरा हुँदैन भन्ने हाम्रो प्रस्ताव छ।’

उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र सीसीएमसीको प्रस्ताव कार्यान्वयनमा आउनेछ। कोरोना संक्रमण फैलिएका जिल्लामा कति समय शैक्षिक संस्थाहरू बन्द गर्ने भन्ने निर्णय डीसीसीएमसीले नै गर्न सक्ने पोखरेलले बताए।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अपिल पनि गरेको छ। बैठकमा कोरोना संक्रमणबारे छलफल भएको थियो। कोरोनाको दोस्रो लहर फैलिन सक्ने भएकाले सतर्कता अपनाउन अपिल गरेको हो।

भारतमा कोरोनाको दोस्रो लहर चलेसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। नयाँ भेरियन्ट देखा परेकाले थप सतर्कता अपनाउनु पर्ने सीसीएमसीले जनाएको छ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले अहिलेको संक्रमणको स्थिति र तयारीबारे छलफल भएको बताए। सबैलाई सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको उनले बताए।

यससँगै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझै सक्रिय बनाउने निर्णय सीसीएमसीले गरेको छ। त्यस्तै, सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने र एन्टिजेन परीक्षण बढाउने निर्णय पनि गरेको छ।

यस्तै, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने सीसीएमसीले निर्णय गरेको बरालले बताए।

अब स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्न लगाइने भएको छ। मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ।

प्रकाशित मिति: २०:२३ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्