Kathmandu Press

माओवादीका थप दुई सांसद कारबाहीमा, सूचना टाँसपछि पद जाने

काठमाडौं, चैत २८ : नेकपा (माओवादी केन्द्र)का थप दुई सांसद कारबाहीमा परेका छन्। उनीहरुको अब केही दिनभित्रै पद जाने भएको छ।माओवादीबाट नेकपा (एमाले)मा...
माओवादीका थप दुई सांसद कारबाहीमा, सूचना टाँसपछि पद जाने

काठमाडौं, चैत २८ : नेकपा (माओवादी केन्द्र)का थप दुई सांसद कारबाहीमा परेका छन्। उनीहरुको अब केही दिनभित्रै पद जाने भएको छ।

माओवादीबाट नेकपा (एमाले)मा प्रवेश गरेको राष्ट्रिय सभाका दुई सांसद कारबाहीमा परेका हुन्। कारबाहीमा पर्ने सांसदमा गृहमन्त्री रामबहादुर थापा र चन्द्रबहादुर खड्का रहेका छन्।

उनीहरुले दल त्याग गरेको पत्र संसद् सचिवालयमा दर्ता भएको छ। शुक्रबार नै सो पत्र सङ्घीय संसद्का महासचिवलाइ दिइएको थियो।

माओवादीका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापा र खड्कालाई कारबाही गरिएको पत्र संसद सचिवालयलाई बुझाएको बताए। अब संसद सचिवालयले सूचना टाँस गरेसँगै दुवै जनाको सांसद पद जानेछ।

अहिले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश भ्रमणमा रहेका छन्। उनी केही दिनमा फर्किनेछन्। सूचना प्रकाशन प्रक्रिया वैशाख १ गतेपछि मात्र अघि बढ्ने जनाएको छ।

संसद सचिवालयमा सूचना दर्ता भएसँगै राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार राष्ट्रिय  सभा अध्यक्षसमक्ष पेस हुनेछ। अध्यक्षले उक्त  सूचना १५ दिनभित्र  सदनमा पेश गर्नुपर्छ।

अहिले राष्ट्रिय सभाको अधिवेशन चलेको छैन। त्यसैले अब उक्त सूचना सचिवालयको सूचना पाटीमा टाँस गरिनेछ। सूचना प्रकाशन भएसँगै दुवै सांसदको पद खारेज हुनेछ।

दुवै स्थान रिक्त भएको जानकारी १५ दिनभित्र निर्वाचन आयोगलाई दिनुपर्छ। आयोगले ६ महिनाभन्दा बढी  कार्यकाल रहेको अवस्थामा उपनिर्वाचनको प्रक्रिया अघि बढाउँछ।

राष्ट्रिय सभामा थापाको कार्यकाल ६ वर्ष र खड्काको कार्यकाल ४ वर्षको छ। त्यसमध्ये तीन वर्ष बितिसकेको छ। अझै थापाको तीन वर्ष र खड्को एक वर्ष बाँकी रहेकाले निर्वाचन हुनसक्नेछ।

यसअघि माओवादीले चार सांसदलाई कारबाही गरिसकेकाे छ। टाेपबहादुर राईमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीश‌ंकर चाैधरीकाे सांसद पद गुमिसकेकाे छ। अब उनीहरुकाे क्षेत्रमा उपनिर्वाचन हुनेछ।

प्रकाशित मिति: ०८:०९ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्