सत्ता समीकरणका लागि देउवा सक्रिय, बोलाए तीन दलको बैठक
काठमाडौं, चैत्र २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएको छ ।कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौं, चैत्र २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज तीन दलको बैठक बोलाएका हुन् । दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकका शिर्ष सहभागी रहने छन् ।
देउवाको पछिल्लो कदमले सत्ता समीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ। एक साता अघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता समीकरणका लागि इच्छा देखाएका थिएनन्। तर, अहिले सभापति देउवाले अग्रसरता देखाएका छन्।
सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै काँग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो।
त्यतिबेला काँग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा भने मध्यावधि चुनाव केन्द्रीत अभिव्यक्ति दिँदै आएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विस्थापन र संसद पुनःस्थापनामा जोड दिदैं आएको भएपनि पछिल्लो पटक ओली सरकार विस्थापन गर्ने विषयमा एकमत बन्दै गएको छ।











