मकवानपुरमा बलात्कारका ३१ घटना दर्ता
हेटौंडा, चैत २६ : मकवानपुर जिल्लामा चालु आर्थिक वर्ष साउनदेखि चैत महिनासम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
हेटौंडा, चैत २६ : मकवानपुर जिल्लामा चालु आर्थिक वर्ष साउनदेखि चैत महिनासम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो कार्यालयमा दर्ता भएका बलात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको बताइएको छ ।
बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। यसअघि २०७६/७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका थिए।
त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँचजना अहिलेसम्म फरार रहेको बताइएको छ ।
त्यस्तै २०७५/७६ मा ३२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा २६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने छ जना अहिलेसम्म फरार छन्।
आर्थिक वर्ष २०७४/७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा आरोपित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् । बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन्।











