‘संसदीय समितिहरुमा दलीय आधारमा सांसदको प्रतिनिधित्व हेरफेर गर्नुपर्छ’

काठमाडौं, चैत २६ : नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदीय समितिहरुमा दलीय आधारमा सांसदको प्रतिनिधित्व हेरफेर गर्नुपर्ने माग राखेका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको सुरुमै उनले प्रतिनिधिसभा बैठकमा यतिखेर एमाले र माओवादी केन्द्र अलगअलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा बदर भइसकेको नेकपाबाटै प्रतिनिधित्व गर्न बाध्य भएको उल्लेख गरे।
आफ्ना सांसदहरुले संसदीय समितिमा नेकपा एमाले भएरै प्रतिनिधित्व गर्न चाहेको उल्लेख गर्दै उनले सत्तापक्षलाई बाध्य पारेर नेकपा हुनैपर्छ भन्न नमिल्ने स्पष्ट पारे।
नेकपा नाम विवादलाई टुंग्याउने क्रममा सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाका कारण एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। तर संसदीय समितिमा भने यी दलको अलगअलग प्रतिनिधित्व हुने व्यवस्था मिलाइसकिएको छैन। यसले संसदको क्रियाशीलतामा नै प्रभाव पार्ने उनको भनाइ थियो।
आफ्नो संसदीय दलका प्रमुख सचेतकले संसदीय समितिमा दिएको नामावलीअनुसार सांसदहरुको प्रतिनिधित्व गराउन पनि उनले माग गरे।
सभामुख अग्निप्रसाद सापकोटाले दलगत आधारमा विषयगत समितिमा सांसदहरुको हेरफेरबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको र त्यहाँबाट नाम प्राप्त भएपछि प्रतिनिधित्व हेरफेर हुने जबाफ दिए।











