कार्यसूचीबाट किन हटाइयो सूचना प्रविधि विधेयक ?
काठमाडौं, चैत २६ : प्रतिनिधिसभाको बिहीबारको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस नहुने भएको छ। गर्ने कार्यसूची थियो। प्रमुख प्रतिपक्षी...
काठमाडौं, चैत २६ : प्रतिनिधिसभाको बिहीबारको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस नहुने भएको छ। गर्ने कार्यसूची थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विरोध गरेपछि त्यसलाई कार्यसूचीबाट हटाइएको हो।
प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ती दुई दलले सो विधेयक पेस गर्ने विषयलाई कार्यसूचीबाट हटाउनुपर्ने माग गरेका थिए। सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले भने अन्तिमसम्मै सूचनाप्रविधि विधेयकको प्रतिवेदन पेस गर्नैपर्नेमा जोड दिएका थिए।
संघीय संसद सचिवालयद्वारा सुरुमा सार्वजनिक सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गर्ने उल्लेख थियो। पछि त्यसलाई संशोधन गरिएको थियो।
नेपाली कांग्रेसले फरक मत राख्दाराख्दै विकास तथा प्रविधि समितिबाट यो विधेयक १५ महिनाअघि २०७६ पुस १३ मा नै बहुमतले पारित भएको थियो। त्यतिबेला नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए।
यो विधेयक विवादास्पद बन्दै आएको छ। कसैलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती गर्ने, राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न बन्देज लगाउने, अन्यथा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेजस्ता कडा प्रावधान विधेयकमा राखिएका छन्।
कांग्रेसलगायत दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै आएका छन्।











