नेपाल बाल संगठनका पदाधिकारीहरुको सदाचारितामा औंल्याइयो खोट
काठमाडौं, चैत २५ : संसद्को महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनका पदाधिकारीहरुको सदाचारितामा खोट देखाएको छ।नेपाल बाल संगठनको नक्सालको बालमन्दिर र सिफलमा...
काठमाडौं, चैत २५ : संसद्को महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनका पदाधिकारीहरुको सदाचारितामा खोट देखाएको छ।
नेपाल बाल संगठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि तयार पारिएको बुधबार पारित गर्दै समिति सभापति निरुदेवी पालले सो प्रतिवेदन केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाउने बताइन् ।
समिति सभापति पालकै नेतृत्वमा स्थलगत भ्रमण गरिएको थियो। सोही भ्रमणका आधारमा बाल संगठनको केन्द्रदेखि जिल्ला तहसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैंसँग चलअचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको निष्कर्ष निकालिएको हो।
प्रतिवेदनमा बाल संगठनको चलअचल सम्पत्तिको तथ्यांक राख्ने, दुराशयपूर्ण सम्झौताहरुलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिइएको छ।
बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ।











