Kathmandu Press

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

काठमाडौं, चैत २५ : नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पत्रकारहरुको छाता संगठन महासंघको केन्द्रीय, प्रादेशिक र स्थानीय तहको नेतृत्व छनोटका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ४ बजेसम्म चल्ने नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महासंघमा देशभर १३ हजार १ सय ८० मतदाता छन्।

महासंघको अध्यक्षका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (धव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् भने शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार बनेकी छिन् । 

अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकीले पनि उम्मेदवारी दिएका छन्। 

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला) पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् । खुला सचिवमा यम विरहीले पनि उम्मेदबारी दिएका छन्।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजकमा प्रतिस्पर्धामा छन् ।

यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्ने व्यवस्था मिलाइएको छ । 

प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ–आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरुले आ–आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।

काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीमा मतदान केन्द्र तोकिएको छ ।

एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ स्थानमा मतदान केन्द्र तोकिएको छ।

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्