Kathmandu Press

चीनले अनुदान दिएको खोप आजदेखि नागरिकलाई लगाइने

चीनले अनुदान दिएको खोप आजदेखि नागरिकलाई लगाइने

काठमाडौं, चैत्र २५ : सरकारले आजदेखि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ।

मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै खोप केन्द्र तोकेर खोप लगाउने काम अगाडि बढाइएको हो। खोप काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थामा लगाउने भएको छ।

उक्त खोप वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ।

चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापक लगायतलाई लगाउने तयारी गरिएको छ । 

प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्