कोरोनाविरुद्ध चिनियाँ खोप लगाइने यी हुन् १४ अस्पताल
काठमाडौं, चैत २४ : कोरोनाभाइरसविरुद्ध चीनले दिएका खोप बुधबारदेखि लगाइने भएको छ। त्यसका लागि सरकारले १४ वटा अस्पताल तोकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौं, चैत २४ : कोरोनाभाइरसविरुद्ध चीनले दिएका खोप बुधबारदेखि लगाइने भएको छ। त्यसका लागि सरकारले १४ वटा अस्पताल तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ४० वर्षमाथिका नागरिकलाई यो खोप लगाइनेछ। नजिकको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार, खोप वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पतालबाट खोप लगाउन सकिनेछ।
त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाइने भएको छ।
चिनीयाँ खोप लगाउनका लागि नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालय तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खोप निश्चित व्यक्तिलाई लगाइने भएको छ। जसमा चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्तिले खोप लगाउन पाउनेछन्।
यसैगरी, औषधि, फलफूल, तरकारीलगायतका व्यापारीलाई पनि चिनीयाँ खोप लगाइने छ। यसँसगै प्राध्यापकहरुले पनि खोप लगाउन पाउनेछन्।
चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको छ। यसअघि भारतले १० लाख डोज खोप उपब्ध गराएको थियो। त्यस्तै, सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको थियो।











