Kathmandu Press

प्रधानमन्त्री ओलीविरुद्ध छिट्टै अविश्वास प्रस्ताव दर्ता हुन्छः डा.भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...
प्रधानमन्त्री ओलीविरुद्ध छिट्टै अविश्वास प्रस्ताव दर्ता हुन्छः डा.भट्टराई

गोरखा, चैत २४ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिने बताएका छन्।

मंगलबार गृहजिल्ला गोरखमा पत्रकारहरुसँग कुराकानी गर्दै डा.भट्टराईले कांग्रेस र माओवादीसँग मिलेर छिट्टै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने बताएका हुन्।

‘प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार को भन्ने प्रश्न छ, जो पनि हुन सक्छ। कुनै पनि पार्टीको स्पष्ट बहुमत छैन। त्यति ठूलो अन्तर पनि छैन,’ डा. भट्टराईले भने, ‘कांग्रेस माओवादी र जनता समाजवादी तीनै थरीको दाबीमा अन्यथा भन्न हुँदैन। तीनै पक्षको दाबी रहन सक्छ, तर यही कारणले केपी शर्मा ओलीको लोकतन्त्र विरोधी अभियानलाई बल पुग्ने कामचाहिँ हुन दिँदैनौं।’

कांग्रेस, माओवादी र जसपासँगै एमालेको माधवकुमार नेपाल पक्षसँग सहमति र सल्लाह गरेर प्रधानमन्त्रीको उम्मेदवार तय गरिने उनको भनाइ थियो। डा.भट्टराईले भने, ‘राजीनामा त नैतिकता भएको मान्छेले गर्ने हो। उहाँबाट त्यो अपेक्षा गर्नु मुर्खता हो।’

प्रधानमन्त्री ओलीलाई हटाउने वातावरण बन्दै गएको उनले बताए। 'अब उहाँलाई हटाउने अविश्वासको प्रस्तावमार्फत नै हो। त्यसको वातावरण बन्दै गएको छ । प्राविधिक ढंगले गृहकार्य गर्दा केही समय लागेको मात्र हो,’ उनले भने।

 

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्